काठमाडौं । व्यवसायी चन्द्र ढकालले प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफल निकै सकारात्मक र फलदायी रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उद्योगी व्यवसायीहरू चन्द्र ढकाल, विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठलगायत सहभागी भएका थिए।
व्यवसायी ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीसँगको भेटबारे जानकारी दिँदै छलफलमा मुलुकको लगानी, रोजगारी, पूर्वाधार विकास तथा राजस्व वृद्धिका विषयमा महत्वपूर्ण कुराकानी भएको बताएका छन्।
उनका अनुसार प्रधानमन्त्री शाहले आन्तरिक तथा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, पूर्वाधारमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने तथा राजस्व वृद्धि गर्ने विषयमा चासो व्यक्त गरेका थिए।
प्रधानमन्त्रीले लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक परे नयाँ कानुन ल्याउनसमेत सरकार तयार रहेको प्रतिबद्धता जनाएको ढकालले बताएका छन्।
ढकालले निर्धारित आधा घण्टाको भेटघाट करिब दुई घण्टासम्म लम्बिएको उल्लेख गर्दै छलफल निकै अर्थपूर्ण रहेको बताएका छन्। व्यवसायी तथा लगानीकर्ताको मनोबल केही कमजोर देखिएको अवस्थामा सरकार र निजी क्षेत्रबीच प्रत्यक्ष संवाद हुनु तथा लगानीको विश्वास बढाउने प्रतिबद्धता आउनु सकारात्मक संकेत भएको उनको भनाइ छ।
उनले सरकार र निजी क्षेत्रबीच निरन्तर छलफल तथा समन्वयका लागि नियमित बैठक बस्ने गरी स्थायी संयन्त्र निर्माण गर्ने विषयमा पनि प्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिएका छन्।
व्यवसायी ढकालका अनुसार सरकार र निजी क्षेत्रबीच नियमित संवाद र सहकार्यलाई प्रभावकारी बनाउन सके लगानीको वातावरण सुधार, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।




.gif)





