images

२०८३ आश्विन १ गते

images
images
images
  • कर्पोरेट
  • भोटेकोशी बाढीले नुवाकोटका १,८०० भन्दा बढी...

भोटेकोशी बाढीले नुवाकोटका १,८०० भन्दा बढी उद्योग–व्यवसाय प्रभावित, पुनरुत्थान प्याकेज तत्काल ल्याउन माग

भोटेकोशी बाढीले नुवाकोटका १,८०० भन्दा बढी उद्योग–व्यवसाय प्रभावित, पुनरुत्थान प्याकेज तत्काल ल्याउन माग

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण भोटेकोशी–त्रिशूली करिडोरमा उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रमा ठूलो भौतिक र आर्थिक क्षति भएको छ। नुवाकोटमा मात्रै साना तथा ठूला गरी १ हजार ८ सयभन्दा बढी उद्योग तथा व्यवसाय पूर्ण रूपमा क्षतिग्रस्त भएको भन्दै बाढीपीडित व्यवसायीले तत्काल राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन्।

    images
    images

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालसहितको सहभागितामा भएको छलफलमा बाढीपीडित उद्योगी व्यवसायीले तत्काल व्यवसाय पुनः सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका हुन्।

    बाढीबाट क्षति पुगेका अधिकांश उद्योग तथा व्यवसाय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सञ्चालनमा रहेकाले व्यवसायी थप आर्थिक संकटमा परेको बताएका छन्। उनीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कम्तीमा तीन वर्षका लागि नवीकरण गर्नुपर्ने, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणको व्यवस्था गर्नुपर्ने र बीमा दाबीको रकम झन्झटरहित रूपमा तत्काल भुक्तानी गर्नुपर्ने माग गरेका छन्।

    images
    images

    व्यवसायीले निजी क्षेत्रको समस्या सरकारसमक्ष प्रभावकारी रूपमा पुर्‍याउन नेपाल उद्योग वाणिज्य महासंघमार्फत पहल गर्नसमेत आग्रह गरेका छन्।

    छलफलमा महासंघका पूर्वअध्यक्ष ढकालले बाढी प्रभावित उद्योगी व्यवसायीको तत्कालीन आधारभूत आवश्यकता पूरा गर्नुपर्नेमा जोड दिए। उनले विपद्को अवस्थामा राजनीतिक दल, सरकार र निजी क्षेत्र सबै पक्ष एकजुट भएर प्रभावित नागरिकको खोज, उद्धार तथा राहतमा जुट्नुपर्ने बताएका छन्।

    ढकालले बाढी प्रभावित उद्योगी व्यवसायीको साथमा महासंघ रहेको उल्लेख गर्दै पुनरुत्थानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बैंक तथा बीमासम्बन्धी समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रीसँग पहल गर्ने उनले बताएका छन्।

    ‘यो बाढीले निजी क्षेत्रका उद्योगी व्यवसायी साथीहरूलाई एकदमै पीडा दिएको छ । म यो संकटको समयमा तपाईंहरूसँगै रहेको विश्वास दिलाउन चाहन्छु,’ ढकालले भने, ‘पहिलो चरणमा आफन्त सम्पर्कविहीन भएको तथा राहत नपाएको अवस्थामा गाँस, बास र लत्ताकपडाको समस्या समाधान गरेर अघि बढ्नुपर्छ।’

    उनले निजी क्षेत्रका व्यवसायीको ऋण तथा बीमासम्बन्धी समस्या समाधानका लागि आफूले सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता जनाउँदै प्रभावित व्यवसायीलाई एक्लो महसुस नगर्न आग्रह गरे।

    व्यवसाय पुनरुत्थान कार्यक्रमबाट नाडा उत्साहित

    यसैबीच, भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि सरकारले गरेको निर्णयको नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले स्वागत गरेको छ।

    सरकारले बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गर्दै भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था र बीमा दाबी भुक्तानी सहज बनाउने लगायतका निर्णय गरेको थियो।

    विपद्बाट प्रभावित व्यवसायलाई तत्काल राहत दिँदै पुनः सञ्चालनको वातावरण बनाउन सरकारले लिएको कदम सकारात्मक र स्वागतयोग्य रहेको नाडाले जनाएको छ।

    विशेषगरी बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त वा बगाएर हराएका व्यावसायिक सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी सोही प्रकृतिका साधन पुनः आयात गर्दा भन्सार महसुल छुट दिने निर्णयले अटोमोबाइल तथा ढुवानी व्यवसायीलाई राहत पुग्ने नाडाको भनाइ छ।

    त्यस्तै, क्षतिग्रस्त मेसिनरी तथा उपकरण पुनः आयातमा दिइएको सहुलियत पुनःस्थापनाका लागि महत्वपूर्ण हुने नाडाले जनाएको छ। बाढी प्रभावित ऋणीलाई कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण तथा ब्याजमा सहुलियत दिने व्यवस्थाले व्यवसायीमाथिको तत्कालीन वित्तीय दबाब कम गर्ने अपेक्षा गरिएको छ।

    क्षतिग्रस्त सवारी तथा उपकरण पुनः खरिदका लागि कर्जा उपलब्ध गराउने व्यवस्था व्यवसायको निरन्तरताका लागि महत्वपूर्ण रहेको नाडाको निष्कर्ष छ।

    नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपद्पछि निजी क्षेत्रलाई पुनःस्थापित गर्न सरकारले कर, भन्सार, कर्जा, ब्याज र बीमालाई एकीकृत रूपमा सम्बोधन गर्नु सकारात्मक कदम भएको बताएका छन्।

    ‘विपद्पछि निजी क्षेत्रलाई पुनः उठाउन सरकारले कर, भन्सार, कर्जा, ब्याज र बीमालाई एकीकृत रूपमा सम्बोधन गर्नु अत्यन्त सकारात्मक कदम हो,’ उप्रेतीले भने, ‘यसले प्रभावित व्यवसायीलाई पुनः व्यवसायमा फर्किन महत्वपूर्ण आधार प्रदान गर्नेछ।’

    नाडाले सरकारको निर्णय शीघ्र, सरल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, वास्तविक क्षतिको विस्तृत अध्ययन गरी आवश्यकता अनुसार दोस्रो चरणको पुनरुत्थान प्याकेज ल्याउनसमेत नाडाले सरकारसँग माग गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend