काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले हालैको जेनयी आन्दोलनका क्रममा भएको घुसपैठ, लुटपाट, तोडफोड र आगजनी घटनामा संलग्नहरूमाथि छानविन गरी कारबाही गर्न र निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेको छ।
महासंघका अनुसार, ती घटनामा संलग्नको जाहेरी नै नलिइएको र कारबाहीमा उदासीनता देखिएको जानकारी सदस्य व्यवसायीहरूबाट प्राप्त भइरहेको छ। यसले समाजमा दण्डहीनता बढाउने र व्यवसायी मनोबल घटाउने भन्दै महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघले भनेको छ कि यस्तो अवस्था निरन्तर रह्यो भने लगानी वातावरण, रोजगारी सिर्जना, राजस्व संकलन र समग्र अर्थतन्त्रमा दीर्घकालीन असर पर्नेछ।
महासंघले केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिमा आफ्ना प्रतिनिधि सहभागी गराउन र जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष र प्रतिनिधिहरूलाई पनि समावेश गर्न सरकारलाई अनुरोध गरेको छ। गृह मन्त्रालयमा यस सम्बन्धमा औपचारिक पत्राचार पनि गरिएको छ।
महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठले छलफलमा भने, “शान्ति सुरक्षा नभइ स्थायित्व सम्भव छैन, स्थायित्व नहुँदा उद्यम व्यवसाय संचालन असम्भव हुन्छ र यसले अर्थतन्त्रमा समस्या सिर्जना गर्छ।” उनले दण्डहीनता अन्त्य गरी भविष्यमा व्यवसायी माथि आक्रमण नहुने सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन्।
निवर्तमान अध्यक्ष शेखर गोल्छाले भने, “देशको आर्थिक गतिविधि दिगो बनाउन र निजी क्षेत्रलाई आत्मविश्वासका साथ क्रियाशील रहन सक्ने अवस्था सिर्जना गर्न सरकारको सक्रिय भूमिका आवश्यक छ।”
छलफलमा महासंघका उपाध्यक्षहरू हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य तथा स्थायी समिति र समितिहरूका सभापतिहरू सहभागी थिए।




.gif)





