गलकोट (बागलुङ), १५ वैशाख । बागलुङको सबैभन्दा पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा १२४ आयोजना कार्यान्वयनको अन्तिम चरणमा पुर्याइएकोे छ । आव २०८२।८३ का लागि निसीखोला गाउँपालिकामा बजेट अनुसार तयार गरिएको १७१ वटा पूर्वाधार विकासतर्फका आयोजना रहेकामा अहिलेसम्म १२४ आयोजना सम्झौता भएर कार्यान्वयनमा गएको हो।
अहिलेसम्म ४७ वटा आोजना सम्पन्न भइसकेका निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँठा मगरले जानकारी दिएका छन । प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण कार्यान्वयनमा भएको ढिलाइ भएको भन्दै उनले विकास निर्माणका १७१ मध्ये १२४ भन्दाबढी आयोजना कार्यान्वयनमा गएका उल्लेख गरेका छन ।
गत माघ र फागुनमा विकास निर्माणका कामले गति लिन नसके पनि चैत लागेयता तीव्रता पाएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले जानकारी दिएका छन । “धमाधम काम भइरहेका छन्, वडागत विनियोजन भएका विकास निर्माणका योजना कार्यान्वयनको चरणमा पुगेका छन् निसीखोला गाउँपालिकाले सीमित योजनामा अधिकतम प्रगति हासिल गरेको छ”, उनले भने, “गाउँपालिकाको प्रशासनिक भवन अपुग भएकाले एक तला ट्रस्टको छानो सहित थपेर सेवालाई थप चुस्त बनाउँछौँ, गाउँपालिकाले ठूला ठेक्का पाँच वटा सडक स्तरोन्नति गरिरहेको छ, सेवा प्रवाहलाई चुस्त बनाउँदै बेरुजु घटाउँदै लगेको छ ।”
प्रमुख प्रशासकीय अधिकृत पुनका अनुसार कर्मचारीको समूहगत काम र जनप्रतिनिधिको सकारात्मक सल्लाहका कारण बेरुजु घटाउँदै लगेको जानकारी दिएका छन । सात वटा वडामा चारदेखि १५ वटा आयोजनाली तीव्रता पाएका उहाँले बताएका छन । उनका अनुसार वडागत रूपमा विकासका आयोजना उल्लेखनीय रूपमा अगाडि बढेका छन् । वडा नं ६ मा दुई वटा आयोजना सम्पन्न भएका छन् भने वडा नं ७ मा १५ वटा आयोजनाले तीव्रता पाएका उनले जानकारी दिएका छन । पालिकास्तरका दुई ठूला आयोजनाबाहेक अधिकांश वडाको आवश्यकता अनुसार तय गरिएकाले कार्यान्वयन प्रभावकारी भएको पुनमगरको भनाइ छ ।
गाउँपालिकाले समयमै आयोजना सम्झौता र सम्पन्न गर्ने लक्ष्य लिएको छ । समयमै काम सम्पन्न गरी अनुगमनपछि भुक्तानी गर्दा बेरुजु घटाउन मद्दत पुगेको पुनले बताएका छन । गाउँपालिकाले गत आवमा रु सात करोड बेरुजु रकम घटाएको उनले जानकारी दिएका छन । “गत वर्ष सात करोड बेरुजु घटाइयो, चालु आवमा एक करोड १० लाख बेरुजु घटाइसकिएको छ, कार्यालय व्यवस्थापन, कर्मचारीको कार्यसम्पादनका आधारमा बेरुजु घटाउन सहयोग मिलेको छ”, प्रमुख प्रशासकीय अधिकृत पुनमगरले भने, “बिल भरपाईको पुनःमूल्याङ्कन, समस्या परेका आयोजनाको अनुगमन गर्दा बेरुजु घटाउन सहयोग पुग्छ, अहिले बेरुजु बढ्न नदिने हाम्रो नीति छ ।”
गाउँपालिकाले विकास आयोजनामा उपभोक्ता समितिलाई अभिमुखीकरण गरी कामलाई पारदर्शी बनाउने पहल थालेको छ । आवश्यक कागजात पूरा गर्ने र लागत अनुसार काम गर्ने बानीको विकास हुँदै जाँदा बेरुजु पनि घट्दै गएको पुनले बताएका छन । गाउँपालिकाको एक तला भवन थप्नका लागि रु ५० लाख विनियोजन गरिएको उनको भनाइ छ । यस्तै रिग ताल संरक्षणका लागि गाउँपालिकाले रु ५० लाख विनियोजन गरिएको छ ।




.gif)





