काठमाडौँ। नेपाली मौलिक पेय पदार्थ मोही (बटरमिल्क) लाई प्रवर्द्धन गर्ने अभियानले नयाँ सफलता हासिल गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा होलिडे इन एक्सप्रेस होटल, नक्सालका सञ्चालक नरेशलाल श्रेष्ठले आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्दै होटलमा बस्ने स्वदेशी तथा विदेशी पाहुनालाई आजदेखि मोही उपलब्ध गराउन सुरु गरेका छन्।
नेपाल डेरी एसोसिएसनले आयोजना गरेको दही–चिउरा प्रवर्द्धन तथा उपभोग कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले स्टार होटलहरूमा पनि मोहीलाई स्थान दिने प्रतिबद्धता व्यक्त गरेका थिए। उक्त प्रतिबद्धता व्यवहारमा उतारेपछि नेपाल डेरी एसोसिएसनले उहाँप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।
उपाध्यक्ष श्रेष्ठले नेपाली मौलिक परिकार र पेय पदार्थलाई अन्तर्राष्ट्रिय पाहुनासम्म पुर्याएर नेपालको संस्कृति, परम्परा र स्थानीय स्वादलाई विश्वसामु चिनाउने उद्देश्यले होटलमा मोही समावेश गरिएको बताएका छन्।
उनका अनुसार विदेशी पर्यटकले नेपाल भ्रमणका क्रममा यहाँका मौलिक परिकार र पेयको अनुभव लिन सके पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्नेछ। साथै, यसले कृषि उत्पादन, दुग्ध व्यवसाय र स्वदेशी उद्योगको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
श्रेष्ठले नेपाल डेरी एसोसिएसनले लामो समयदेखि सञ्चालन गर्दै आएको मोही प्रवर्द्धन अभियानको प्रशंसा गर्दै नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यका रूपमा यस अभियानलाई साथ दिनु आफ्नो जिम्मेवारी भएको उल्लेख गर्नुभयो। उहाँले स्वास्थ्यका दृष्टिले पनि मोही अत्यन्त लाभदायक भएकाले यसको व्यापक प्रचारप्रसार आवश्यक रहेको धारणा राखेका छन्।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले स्टार होटलमा मोही समावेश हुनु स्वदेशी उत्पादन प्रवर्द्धन अभियानका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनले सानो अभियानका रूपमा सुरु गरिएको मोही प्रवर्द्धन अहिले व्यावसायिक आतिथ्य क्षेत्रमा प्रवेश गर्नु नेपाली मौलिक उत्पादनप्रतिको सम्मान र अभियानको सफलताको संकेत भएको उल्लेख गरेका छन्।
अध्यक्ष दाहालले होलिडे इन एक्सप्रेस होटल र उपाध्यक्ष नरेशलाल श्रेष्ठप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अन्य होटल तथा रेस्टुरेन्टहरूले पनि नेपाली मौलिक पेयलाई प्राथमिकता दिने अपेक्षा व्यक्त गरेका छन्।
नेपाल डेरी एसोसिएसनले अब नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा देशभरका होटल, रेस्टुरेन्ट तथा अन्य आतिथ्य प्रतिष्ठानमा मोहीलाई ‘नेशनल ट्रेडिसनल ड्रिंक’का रूपमा स्थापित गर्ने अभियानलाई थप विस्तार गर्ने जनाएको छ।
एसोसिएसनका अनुसार यस अभियानले स्वदेशी दुग्धजन्य उत्पादनको खपत बढाउने, किसानको आयआर्जनमा सहयोग पुर्याउने, पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाली मौलिक खाद्य संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।




.gif)





