काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ललितपुर च्याप्टरको वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयन कार्यक्रम सम्पन्न भएको छ। साधारण सभाले अनुकूल श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमितिलाई आगामी कार्यकालको जिम्मेवारी हस्तान्तरण गरेको हो।
नवनिर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठले आफ्नो नेतृत्वमा युवा उद्यमीहरूको क्षमता अभिवृद्धि, नवप्रवर्तन (इनोभेसन), स्टार्टअप प्रवर्द्धन, व्यवसायमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको सशक्त इकोसिस्टम विकासलाई प्रमुख प्राथमिकतामा राखिने बताए। उनले निजी क्षेत्रको नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा स्थापित गर्दै युवा उद्यमीहरूलाई अवसर, सञ्जाल र सहकार्यका माध्यमबाट सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै नेपालको आर्थिक रूपान्तरणमा युवा उद्यमीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले निजी क्षेत्रको भविष्य नवप्रवर्तन, सिर्जनशीलता र युवा नेतृत्वसँग जोडिएको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र युवा उद्यमीबीचको सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।
महासंघले युवा उद्यमी मञ्चसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै स्टार्टअप विकास, उद्यमशीलता प्रवर्द्धन, वित्तीय पहुँच विस्तार, मार्गदर्शन (मेन्टरसिप) तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय नेटवर्क विस्तारका क्षेत्रमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता पनि अध्यक्ष श्रेष्ठले व्यक्त गरे।
कार्यक्रमलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले पनि नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिलाई बधाई दिँदै नेपालको आर्थिक विकासमा युवा उद्यमीहरूको योगदान उल्लेखनीय रहेको बताए।
उनले आफू स्वयं स्टार्टअप उद्यमसँग जोडिएको अनुभव रहेको उल्लेख गर्दै युवा उद्यमीहरूले भोग्ने चुनौतीप्रति सरकार संवेदनशील रहेको बताए। स्टार्टअप प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण, वैदेशिक लगानी आकर्षण, प्रविधि हस्तान्तरण तथा उद्यमशीलता विकासका क्षेत्रमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
मन्त्री खनालले युवा उद्यमी मञ्चजस्ता संस्थाहरूले नेपालमा अवसर र सम्भावनाको सकारात्मक सन्देश फैलाउँदै नयाँ पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको पनि बताए।
कार्यक्रममा युवा उद्यमशीलता, स्टार्टअप प्रवर्द्धन, नवप्रवर्तन, निजी क्षेत्रको नेतृत्व विकास तथा सरकार, निजी क्षेत्र र युवा उद्यमीबीच सहकार्य विस्तारका विषयमा समेत विस्तृत छलफल गरिएको थियो।
नवगठित कार्यसमिति
अध्यक्ष : अनुकूल श्रेष्ठ
निवर्तमान अध्यक्ष : एल्भिस रञ्जित
प्रथम उपाध्यक्ष : प्रकिरण श्रेष्ठ
द्वितीय उपाध्यक्ष : आशिष भण्डारी
कार्यसमिति सदस्य : आशंक श.ज.ब राणा, रितेज श्रेष्ठ, अभिषेक शारदा, श्रद्धा कटुवाल, कुशल जोशी, अनिष रौनियार, नीरज काफ्ले, अस्मी श्रेष्ठ, निकीता श्रेष्ठ, अभिनभ राज श्रेष्ठ र क्षितिज ध्वज थापा।
नयाँ कार्यसमितिले आगामी कार्यकालमा युवा उद्यमीहरूको क्षमता विकास, नवप्रवर्तनमा आधारित व्यवसाय विस्तार तथा स्टार्टअपमैत्री वातावरण निर्माणमा विशेष ध्यान केन्द्रित गर्ने जनाएको छ।




.gif)





