काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्य घटेपछि स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ।
नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल–मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्य घटाएपछि महासङ्घले भाडा पुनरावलोकनको माग अघि सारेको हो।
महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले इन्धनको मूल्यमा हुने उतारचढावअनुसार सार्वजनिक यातायातको भाडा पनि पारदर्शी, वैज्ञानिक र स्वचालित प्रणालीका आधारमा निर्धारण तथा समायोजन हुनुपर्ने बताए।
उनले इन्धनको मूल्य बढ्दा भाडा वृद्धि हुने तर मूल्य घट्दा समयमै भाडा समायोजन नहुँदा यात्रु र व्यवसायी दुवै अन्योलमा पर्ने अवस्था सिर्जना हुने गरेको उल्लेख गरे।
अध्यक्ष सिटौलाका अनुसार सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र होइन, सवारी सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, स्पेयर पार्ट्स, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई समेत आधार बनाएर वैज्ञानिक ढंगले निर्णय गरिनुपर्ने आवश्यकता रहेको बताएका छन्।




.gif)





