काठमाडौँ । कैलालीको मोहन्याल गाउँपालिका–७, राजकाँडास्थित जालपादेवी मन्दिरलाई लक्षित गरी निर्माणाधीन जालपादेवी केबलकार आगामी दुई महिनाभित्र व्यावसायिक सञ्चालनमा आउने भएको छ। परियोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको र अधिकांश भौतिक पूर्वाधार अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।
आइएमई समूहको मुख्य लगानी रहेको यस परियोजनामा विभिन्न चरणमा गरी करिब ६ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। हाल केबलकारका पोल ठड्याउने, बटम स्टेसन र टप स्टेसन निर्माणलगायतका मुख्य संरचनाको काम अन्तिम चरणमा पुगेको छ।
कम्पनीका अनुसार भौतिक संरचनाको काम सम्पन्न भएपछि मुख्य प्राविधिक चरणअन्तर्गत केबलकारको तार तान्ने तथा गोन्डोला (केबिन) जडान गर्ने कार्य सुरु गरिनेछ। त्यसपछि परीक्षण सञ्चालन गरी व्यावसायिक सेवा सञ्चालनमा ल्याइने योजना छ।
३।१ किलोमिटर लामो यो केबलकार कैलालीको लम्कीचुहा नगरपालिका–३, चिसापानी देखि मोहन्याल गाउँपालिका–७, राजकाँडा सम्म सञ्चालन हुनेछ। यसले धार्मिक पर्यटनसँगै सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
परियोजनाअन्तर्गत तल्लो (बटम) स्टेसनमा पाँचतारे होटल, क्यासिनो, ब्यांक्वेट हल लगायतका सुविधा निर्माण भइरहेका छन्। त्यसैगरी माथिल्लो (टप) स्टेसनमा रिसोर्ट, जालपादेवी मन्दिर, स्काई वाक, पदमार्ग (वाकिङ ट्रेल), रेस्टुरेन्ट तथा बाल उद्यान जस्ता पर्यटकीय पूर्वाधार विकास भइरहेको छ।
कम्पनीका अनुसार केबलकार सञ्चालनमा आएपछि धार्मिक पर्यटनलाई नयाँ आयाम मिल्नुका साथै स्थानीय रोजगारी, व्यवसाय र समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।




.gif)





