काठमाडौँ । ‘सोफा हब काठमाडौं’ले आयोजना गरेको ‘कन्टेन्ट क्रिएटर अवार्ड २०८३’ को उपाधि अनिश चापागाईँले जितेका छन्। शुक्रबार भक्तपुरमा आयोजित समारोहमा उनले नगद १ लाख रुपैयाँ सहित अवार्ड प्राप्त गरेका हुन्।
प्रतिस्पर्धामा छनोट भएका ३२ जना कन्टेन्ट क्रिएटरमध्ये ‘टिम ४४४’ दोस्रो हुँदै ५० हजार रुपैयाँ पुरस्कार जित्न सफल भयो। त्यस्तै, सागर पाण्डे र श्रीजन श्रेष्ठ तेस्रो हुँदै जनही २५ हजार रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरे।
चर्चित कलाकार सन्दीप क्षेत्री र भिडियो मेकर सम्राट अधिकारी सम्मिलित निर्णायक मण्डलले भिडियोको गुणस्तर, सिर्जनशीलता र ब्रान्ड प्रस्तुतिका आधारमा विजेता छनोट गरेको हो। कार्यक्रममा कलाकार क्षेत्रीले युवाहरूलाई मेहनत र सही प्रक्रियामा विश्वास गर्न आग्रह गरे।
सोफा हबको छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पत्रकारितामार्फत समाजमा योगदान पुर्याएको भन्दै रातोपाटी डटकमका सहायक सम्पादक राजकुमार सिग्देललाई ‘उत्कृष्ट पत्रकारिता सम्मान–२०८३’ प्रदान गरिएको थियो।
समारोहका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सोफा हबले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्दै आयातित फर्निचरको विकल्प निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।

कार्यक्रममा आमा छोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, कागेश्वरी मनोहरा–९ का वडाध्यक्ष अनिल थापा, नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका महासचिव प्रेमहरि मैनाली, रास्वपाका केन्द्रीय सदस्य हिमेश पन्त तथा पर्यटन व्यवसायी रामप्रसाद सापकोटालगायतको उपस्थिति रहेको थियो।
गायिका सिर्जना खत्री (हाउडे माया) र रेखा पोखरेलको सांगीतिक प्रस्तुतिले समारोहलाई थप आकर्षक बनाएको थियो। सोफा हबका संस्थापक तारालाल धरेलले ‘नेपाली श्रम र सीपको सम्मान’ भन्ने उद्देश्यसहित कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए। हाल कम्पनीका ११ शाखा सञ्चालनमा रहेका छन् भने जनकपुरमा १२औँ शाखा खोल्ने तयारी भइरहेको र कम्पनीले ३०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको जनाएको छ।




.gif)





