images

२०८३ आश्विन २ गते

images
images
images
  • विचार
  • फोहोर होइन, सम्पत्ति : अष्ट्रेलियाको FOGO...
अर्थसमाचार संवाददाता

फोहोर होइन, सम्पत्ति : अष्ट्रेलियाको FOGO प्रणालीबाट नेपालले सिक्नुपर्ने पाठ

फोहोर होइन, सम्पत्ति : अष्ट्रेलियाको FOGO प्रणालीबाट नेपालले सिक्नुपर्ने पाठ

images
images
बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • काठमाडौं । नेपालको अग्रणी खाद्य शब्दकोश फलाङ फुड डिक्सनरी (Falang Food Dictionary) का लेखक तथा खाद्य संस्कृति, खाद्य सुरक्षा र दिगो खाद्य व्यवस्थापनका विषयमा निरन्तर लेखन गर्दै आएका शिव न्यौपानेले अष्ट्रेलियाको FOGO (Food Organics and Garden Organics) प्रणाली नेपालका लागि अनुकरणीय मोडेल हुन सक्ने बताएका छन्।

    images
    images

    उनका अनुसार विकसित मुलुकहरूले फोहोरलाई समस्याका रूपमा होइन, आर्थिक स्रोत र वातावरणीय अवसरका रूपमा लिन थालेका छन्। विशेषगरी अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अधिकांश स्थानीय काउन्सिलहरूले घर–घरमा हरियो ढक्कन भएको FOGO बिन र सानो किचन क्याडी उपलब्ध गराई भान्साबाट निस्कने जैविक फोहोर छुट्टै सङ्कलन गर्ने व्यवस्था गरेका छन्।

    यस प्रणालीअन्तर्गत फलफूल तथा तरकारीका अवशेष, मासु, माछा, दुग्धजन्य पदार्थ, रोटी, कफीका अवशेष, अण्डाको बोक्रा तथा बगैंचाबाट निस्कने हरिया फोहोरहरू छुट्टै सङ्कलन गरिन्छ। जैविक फोहोर हरेक हप्ता सङ्कलन गरिने र सामान्य फोहोर प्रायः पाक्षिक रूपमा उठाइने व्यवस्था रहेको उनले उल्लेख गरेका छन्।

    images
    images

    न्यौपानेका अनुसार सङ्कलित जैविक फोहोरलाई आधुनिक कम्पोस्टिङ केन्द्रमा पुर्‍याएर प्लास्टिकलगायतका अशुद्ध वस्तु छुट्याइन्छ। त्यसपछि जैविक सामग्रीलाई साना टुक्रामा परिणत गरी विन्ड्रो (Windrow) प्रविधिमार्फत उपयुक्त तापक्रम, आर्द्रता र हावा प्रवाहमा प्रशोधन गरिन्छ। केही सातापछि तयार हुने उच्च गुणस्तरको कम्पोस्ट कृषि, सार्वजनिक पार्क, बगैंचा तथा भूमि पुनर्स्थापना परियोजनामा प्रयोग गरिन्छ।

    उनका अनुसार यस प्रणालीले ल्यान्डफिलमा जाने फोहोरको मात्रा उल्लेखनीय रूपमा घटाएको, मिथेन ग्यासको उत्सर्जन कम गरेको तथा माटोको उर्वराशक्ति बढाउने जैविक मल उत्पादन गरेको छ। यसले वातावरण संरक्षणसँगै स्थानीय अर्थतन्त्रलाई पनि मजबुत बनाएको उनको भनाइ छ।

    नेपालको सन्दर्भमा भने विशेषगरी काठमाडौं उपत्यकामा दैनिक रूपमा ठूलो परिमाणमा जैविक फोहोर खुला स्थान, सडकछेउ र बजार क्षेत्रमा जथाभावी फालिने गरेको उल्लेख गर्दै उनले यसले दुर्गन्ध, प्रदूषण, रोगको जोखिम र फोहोर व्यवस्थापनको चुनौती बढाएको बताए।

    उनका अनुसार काठमाडौं महानगरपालिकासहित स्थानीय तहहरूले FOGO प्रणालीजस्तै घर–घरबाट जैविक फोहोर छुट्टै सङ्कलन गर्ने व्यवस्था लागू गर्न सके, हरेक हप्ता हजारौँ टन खाद्य फोहोरलाई वैज्ञानिक रूपमा प्रशोधन गरी गुणस्तरीय जैविक मल उत्पादन गर्न सकिनेछ। यसले किसानलाई रासायनिक मलको विकल्प उपलब्ध गराउनुका साथै सहरी हरियाली र कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पार्नेछ।

    न्यौपानेले कम्पोस्ट उत्पादन, ढुवानी, प्रशोधन र बजार व्यवस्थापनमार्फत नयाँ रोजगारी र उद्यमशीलताको अवसर सिर्जना हुने उल्लेख गर्दै यस्तो प्रणालीले हरित अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

    उनका अनुसार नेपालले दिगो विकास, खाद्य सुरक्षा र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्ने हो भने अष्ट्रेलियाको FOGO प्रणालीबाट सिकेर स्थानीय आवश्यकता अनुकूल प्रभावकारी जैविक फोहोर व्यवस्थापन नीति कार्यान्वयन गर्नु आजको आवश्यकता हो।

    उनले अन्त्यमा जोड दिएका छन्, "फोहोरलाई समस्याका रूपमा होइन, मूल्यवान् स्रोतका रूपमा हेर्ने सोच नै स्वच्छ, हराभरा र समृद्ध नेपालको आधार बन्न सक्छ।"

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend