काठमाडौं, १० साउन । नेपाल–कोरिया उद्यमी व्यवसायी संघ (NKBEA) ले आगामी साउन ३१ गते (१६ अगस्ट २०२६) ललितपुरको पुल्चोकस्थित द प्लाजामा ‘नेपाल–कोरिया व्यवसायिक अन्तरक्रिया कार्यक्रम २०२६’ आयोजना गर्ने भएको छ।
संघले कार्यक्रमबारे जानकारी दिँदै नेपाल र गणतन्त्र कोरियाबीचको आर्थिक, व्यावसायिक तथा उद्यमशील सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ।
‘नेपाल–कोरिया व्यवसायिक अवसर, चुनौती र रिटर्नी उद्यमीको भूमिका’ विषयमा केन्द्रित कार्यक्रममा नेपाल सरकारका उच्चपदस्थ प्रतिनिधि, दक्षिण कोरियाका कूटनीतिक प्रतिनिधि, उद्योगी–व्यवसायी, रिटर्नी उद्यमी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ।
कार्यक्रममा नेपाल–कोरिया व्यापार तथा लगानीका अवसर, उद्यमशीलता प्रवर्द्धन, रिटर्नी उद्यमीहरूको भूमिका तथा दुई देशबीचको आर्थिक सहकार्य विस्तारका विषयमा छलफल हुने आयोजकको भनाइ छ।
नेपाल–कोरिया उद्यमी व्यवसायी संघले विभिन्न सञ्चारमाध्यमलाई कार्यक्रममा सहभागी भई समाचार संकलन, प्रकाशन तथा प्रसारणमार्फत कार्यक्रमका गतिविधि, छलफल र निष्कर्ष आम नागरिक तथा व्यावसायिक समुदायसम्म पुर्याइदिन अनुरोध गरेको छ।
संघका अध्यक्ष प्रेमकुमार गुरुङ, महासचिव जितेन्द्र बानियाँ तथा वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक विकी श्रेष्ठद्वारा जारी निमन्त्रणापत्रमा कार्यक्रम दिउँसो १ बजे सुरु हुने उल्लेख गरिएको छ।




.gif)





