काठमाडौँ । नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ। करिब २० अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको यस आयोजनामा एसियाली विकास बैंक (एडीबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ। कुल ११३ किलोमिटर लम्बाइको यस सडकलाई दुई खण्डमा विभाजन गरी विस्तार कार्य अघि बढाइएको थियो।
सडक विभाग, आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालका अनुसार अनेकौँ चुनौतीका बाबजुद आयोजना निर्माणको अन्तिम चरणमा पुगेको हो। अन्तर–निकाय समन्वयको अभाव र निर्माण व्यवसायीको नगद प्रवाह व्यवस्थापनमा समस्या देखिएका कारण निर्धारित समयभन्दा केही ढिलाइ भएको निर्देशक ढकालले जानकारी दिए।ढकालका अनुसार उनले कार्यभार सम्हाल्दा आयोजनाको निर्धारित म्याद सकिएर थप गरिएको एक वर्ष भइसकेको थियो। आयोजनाको सुरुवाती चरणमा कोभिड–१९ को महामारी र रुख कटानको प्रक्रियामा भएको ढिलाइले निर्माण कार्य सुस्त बनेको थियो। निर्माण व्यवसायीले पर्याप्त स्रोत परिचालन गर्न नसक्दा र खर्चअनुसारको शोधभर्ना नहुँदा देखिएको वित्तीय सङ्कट समाधानका लागि सरकारका तर्फबाट कूटनीतिक पहलसमेत गरिएको थियो।
चिनियाँ सरकारी कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ ले निर्माणको जिम्मा पाएको यस आयोजनाको काम २०७५ चैत ८ गतेदेखि सुरु भएको हो। सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यस सडकलाई दुई भागमा बाँडिएको छ। ६५ किलोमिटर लम्बाइको नारायणगढ–दाउन्ने खण्डलाई ‘पूर्वी खण्ड’ र ४९ किलोमिटर लम्बाइको दाउन्ने–बुटवल खण्डलाई ‘पश्चिमी खण्ड’ भनिएको छ।‘नारायणघाट–बुटवल सडक २ लेनबाट ४ लेनमा विस्तार गर्ने आयोजना एडीबीको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको लगानीमा निर्माण भइरहेको हो,’ निर्देशक ढकालले भने, ‘आयोजना निर्देशकको रूपमा जिम्मेवारी सम्हाल्दा परियोजनाको निर्धारित समय सकिएको थियो र थपिएको म्याद पनि समाप्त हुन लागेको थियो।’त्यसबेला आयोजना पूरा हुने वा नहुने भन्ने गम्भीर अन्योल रहेको उनले बताए। त्यसपछि निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरकार र सम्बन्धित निकायसँग समन्वय गरी समस्या पहिचान गरिएको उनको भनाइ छ। निर्माण सामग्रीको आपूर्ति, विद्युतका पोल सार्ने, रुख कटान अनुमति लगायतका प्रशासनिक र प्राविधिक अवरोध हटाउने काम गरिएको ढकालले उल्लेख गरे।
‘मुख्य समस्या भने निर्माण व्यवसायी आर्थिक रूपमा घाटामा परेर पर्याप्त नगद प्रवाह र स्रोत परिचालन गर्न नसक्नु थियो,’ ढकालले थपे, ‘त्यसैले नेपाल सरकारको उच्च तह, चिनियाँ दूतावास तथा सम्बन्धित पक्षसँग समन्वय गरी निर्माण कम्पनीको मुख्य कार्यालयसम्म विषय पुर्याइयो।’यो सडक नेपालका लागि अत्यन्तै महत्वपूर्ण ‘लाइफलाइन’ भएकाले जुनसुकै हालमा सम्पन्न हुनुपर्ने सन्देश दिइएको उनले स्पष्ट पारे। सबै पक्षको संयुक्त पहलपछि निर्माण कम्पनीले आफ्नो मुख्य कार्यालयबाट आवश्यक स्रोत–साधन जुटाई निर्माण कार्यलाई तीव्र बनाएकाले अहिले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको उनको भनाइ छ।यस विस्तारअन्तर्गत बजार क्षेत्रको २८ किलोमिटर खण्डलाई ६ लेन र अन्य क्षेत्रलाई ४ लेनमा स्तरोन्नति गरिएको छ। आयोजनामा देखिएका समस्याहरूको पहिचान गर्दै समाधानतर्फ अघि बढेकाले अहिले आयोजना सफलतातर्फ उन्मुख भएको निर्देशक ढकालले बताए।




.gif)





