images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • नौ वर्षपछि आशा पलाउदै ओखलढुङ्गा –रुम्जाटार...

नौ वर्षपछि आशा पलाउदै ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै

नौ वर्षपछि आशा पलाउदै ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • ओखलढुङ्गा, २७ साउन । यहाँको रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको छ । कोशी प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालयले सदरमुकामस्थित रमाइलोडाँडादेखि सानीटारसम्मको ६.५ किलोमिटर सडक स्तरोन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गरेको छ । 

    images
    images

    कार्यालयले एक महिनाभित्र बोलपत्र टुङ्ग्याएर दुई वर्षभित्र कालोपत्रको काम सक्नेगरी तयारी गरिरहेको जनाएको छ । “हामीले पूरै नयाँ काम गर्नेगरी बोलपत्र आह्वान गरेका छौँ”, पूर्वाधार विकास कार्यालयका प्रमुख सुरेशप्रसाद साहले भने, “अहिले रु ३० करोड बजेटमा ४० एमएम थीक रहने अस्फाल्ड कङ्क्रिट कालोपत्र गर्ने हाम्रो तयारी हो ।”

    कार्यालयका अनुसार पहिलो चरणमा डिजाइन गरिएको रमाइलोडाँडा सानीटार भागमा रहेको पुरानो जीर्ण कालोपत्र उप्काएर अस्फाल्ड प्रविधिबाट कालोपत्र गरिनुको साथै ड्रेन, मेसिनरी वाल, ग्याबिन वाल, लङ वाल, कल्भर्टलगायतका संरचना पनि निर्माण गरिनेछ । सानीटारदेखि रुम्जाटारसम्मको बाँकी ४।१ किलोमिटर क्षेत्रका लागि भने अहिले तत्काल  काम हुनेछैन ।

    images
    images

    यसअघि २०७४ सालमा एसियाली विकास बैंक र स्वीस सरकारको रु २० करोड ६८ लाख अनुदान सहयोगमा आपत्कालीन भूकम्पीय सहयोग परियोजना अन्तर्गत ओखलढुङ्गा रुम्जाटार सडकमा डिबीएसटी कालोपत्र गरिएको थियो । करिव ११.१ किलोमिटर सडकमा गरिएको कालोपत्र नौ महिनामै उप्किन थालेको थियो । तत्कालीन समयको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई ओखलढुङ्गामार्फत ठेक्का लागेर सडकमा बिछ्याइएको कालोपत्र कमसल र गुणस्तरहीन भएको जनाउँदै जनगुनासोसमेत आएको थियो ।
     
    पछिल्लो समयमा समेत ठूलाठूला खाल्डा, हिलो र पानी जम्ने आहालले बेहाल सडकका कारण स्थानीय नागरिकले सास्ती खेप्दै आएका थिए । कालोपत्र आयोजना सञ्चालन गर्ने कार्यालय जिल्लाबाट खारेज भएपछि सडकको मर्मतसमेत हुनसकेको थिएन । 

    रुम्जाटारमा ओखलढुङ्गाको जिल्ला अस्पताल तथा रुम्जाटार विमानस्थलसमेत छ । सो क्षेत्र जिल्लाको पर्यटकीय क्षेत्र हो । लामो समयसम्म जीर्ण बनेको ओखलढुङ्गा रुम्जाटार सडकमा नयाँ बजेट व्यवस्थापनसहित प्रदेश सरकारले फेरि कालोपत्रको प्रक्रिया अघि बढाएपछि जिल्लाका बासिन्दामा सहज यात्राको आशा पलाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend