काठमाडौं । डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक र एनएमसी मल्टिपर्पस को–अपरेटिभ लिमिटेडबीच रणनीतिक सहकार्य भएको छ । सहकार्यसँगै एनएमसी–कोअपका सदस्यले एउटै डिजिटल प्लेटफर्ममार्फत मोबाइल बैंकिङ, डिजिटल भुक्तानी तथा डिजिटल कर्जालगायतका सेवा प्राप्त गर्ने भएका छन् ।एमबैंक र एनएमसी–कोअपबीच जेठ २९ गते सम्झौता भएको थियो । सम्झौताअनुसार साउन ७ गतेदेखि सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो । डेढ लाखभन्दा बढी सदस्य तथा ५७ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको एनएमसी–कोअपसँगको सहकार्यलाई डिजिटल वित्तीय सेवा विस्तारको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।
सहकार्यपछि एनएमसी–कोअपका सदस्यले मोबाइल एपमार्फत बचत तथा बैंकिङ सेवाका अतिरिक्त क्यूआर भुक्तानी, अन्तरसंस्था रकम स्थानान्तरण, उपयोगिता शुल्क भुक्तानी, डिजिटल भुक्तानी तथा केवाईएम अद्यावधिकलगायतका सेवा लिन सक्नेछन् ।एमबैंकले परम्परागत मोबाइल बैंकिङको सीमाभन्दा माथि उठ्दै बैंकिङ, भुक्तानी र कर्जालाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने अवधारणा अघि बढाएको जनाएको छ । यसअन्तर्गत खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने र बिल भुक्तानी गर्नेमात्र नभई दैनिक वित्तीय आवश्यकताका विभिन्न सेवा मोबाइलबाटै उपलब्ध गराउने लक्ष्य लिइएको छ ।सहकार्यको अर्को महत्वपूर्ण पक्ष डिजिटल कर्जा रहेको छ । नेपाल राष्ट्र बैंकले प्रवर्द्धन गरिरहेको डिजिटल वित्तीय सेवाको अवधारणाअनुसार एमबैंक र एनएमसी–कोअपले चरणबद्ध रूपमा डिजिटल कर्जा सेवा विस्तार गर्ने योजना बनाएका छन् । यसअन्तर्गत मुद्दती निक्षेप धितोमा कर्जा, आवधिक खाताविरुद्ध कर्जा, कर्जा भुक्तानी, कर्जा विवरण तथा नयाँ कर्जाका लागि आवेदन दिनेलगायतका सेवा मोबाइल एपमार्फत उपलब्ध गराइनेछ ।
यसबाट सदस्यले नयाँ कर्जाका लागि आवेदन दिन, आवश्यक कागजात डिजिटल माध्यमबाट पेश गर्न तथा कर्जाको प्रक्रियाबारे जानकारी लिन बारम्बार शाखा धाउनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ ।सम्झौतापछि प्रतिक्रिया दिँदै एनएमसी मल्टिपर्पस को–अपरेटिभ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा हालै राष्ट्रिय सहकारी बैंक लिमिटेडको अध्यक्षमा निर्वाचित लक्ष्मीप्रसाद उप्रेतीले सहकारी क्षेत्रको दिगो विकासका लागि प्रविधिमैत्री सेवा विस्तार आवश्यक रहेको बताए । उनले एमबैंकसँगको सहकार्यले एनएमसी–कोअपका सदस्यलाई सुरक्षित, सहज र आधुनिक वित्तीय सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।त्यस्तै एमबैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठले डिजिटल वित्तीय पहुँच विस्तार गर्ने कम्पनीको दीर्घकालीन प्रतिबद्धताअनुसार सहकार्य अघि बढाइएको बताए । उनका अनुसार यो सहकार्य मोबाइल बैंकिङ सेवा विस्तार गर्ने सम्झौतामात्र नभई सहकारी क्षेत्रलाई डिजिटल युगमा रूपान्तरण गर्ने साझा अभियान हो ।
एमबैंकले बैंकिङ, भुक्तानी र कर्जालाई एउटै डिजिटल प्रणालीमा एकीकृत गर्दै सदस्यलाई सरल, सुरक्षित र आधुनिक वित्तीय अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।कम्पनीका अनुसार एनएमसी–कोअपको ठूलो सदस्य आधारलाई अत्याधुनिक डिजिटल वित्तीय सेवासँग जोड्दा नेपालको डिजिटल वित्तीय प्रणाली थप सुदृढ हुनेछ । साथै सहकारी, लघुवित्त तथा अन्य वित्तीय संस्थाका लागि डिजिटल बैंकिङ, भुक्तानी र डिजिटल कर्जासम्बन्धी समाधान विकास तथा विस्तार गर्ने अभियानलाई समेत यस सहकार्यले गति दिने अपेक्षा गरिएको छ ।एमबैंकले विगत एक दशकदेखि सहकारी, लघुवित्त तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ, डिजिटल भुक्तानी, क्यूआर भुक्तानी, डिजिटल कर्जा तथा अन्य डिजिटल वित्तीय समाधान उपलब्ध गराउँदै आएको जनाएको छ । एनएमसी–कोअपले बचत तथा ऋण, कृषि, दुग्ध, चिया, विप्रेषण तथा विभिन्न सामुदायिक सेवामार्फत डेढ लाखभन्दा बढी सदस्यलाई सेवा दिँदै आएको छ ।




.gif)





