काठमाडौँ । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो दिन बुधबार २६ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्। आयोजकका अनुसार उद्घाटनको पहिलो दिन पनि २९ हजारभन्दा बढीले एक्स्पोको अवलोकन गरेका थिए।
एक्स्पोमा विशेषगरी विद्युतीय सवारीसाधनप्रति दर्शक तथा उपभोक्ताको आकर्षण बढेको छ। विद्युतीय सवारीका ब्याट्री क्षमता, मोटर, ड्राइभिङ रेन्ज तथा बिक्रीपछिको सेवाबारे अवलोकनकर्ताले विशेष चासो राखेका छन्।
उपभोक्तालाई आकर्षित गर्न विभिन्न कम्पनीले सवारी खरिदमा मूल्य छुट, निःशुल्क बीमा तथा सर्भिसिङ, सवारी करमा छुट र सहुलियत ब्याजदरमा कर्जालगायतका सुविधा उपलब्ध गराएका छन्।
एक्स्पोको दोस्रो दिन विभिन्न ब्रान्डले थप चार नयाँ मोडल सार्वजनिक गरेका छन्। यसअघि पहिलो दिन ४८ नयाँ मोडल सार्वजनिक गरिएको थियो। नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका प्रमुख आकर्षण बनेका छन्।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाख दर्शक पुग्ने अपेक्षा गरेको छ।
एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको समेत सहभागिता रहेको छ। ती संस्थाले सवारी खरिदकर्ताका लागि विभिन्न कर्जा तथा बीमा सुविधा र विशेष अफर उपलब्ध गराइरहेका छन्।




.gif)





