काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले नासा फाउन्डेसन नेपालको सहकार्यमा साउन २९ गते ग्वार्कोस्थित रोयल ट्युलिपमा ‘नेपालमा इभी अपनाउने अवस्थासम्बन्धी अध्ययन’ को सरोकारवाला परामर्श कार्यक्रम आयोजना गरेको छ।रेज कन्सल्ट प्रालिले तयार पारेको उक्त अध्ययनको प्रारम्भिक निष्कर्ष प्रस्तुत गर्दै सरोकारवाला तथा विशेषज्ञहरूबाट प्रतिक्रिया संकलन गरिएको थियो। परियोजना संयोजक सुबास भट्टराईले आयोजना गरेको कार्यक्रमको अध्यक्षता नासा नेपालका अध्यक्ष दशरथ रिसालले गरेका थिए ।
कार्यक्रममा मन्त्रालयका प्रतिनिधि, इभी डिलर, मेकानिक, अनुसन्धानकर्ता, सांसदसहित ३० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो। रेज कन्सल्टका प्रबिन सिंहले देशभरका सातै प्रदेशका २ हजार ६७ जना उत्तरदातामा गरिएको सर्वेक्षण अनुसार ७८ प्रतिशत इभी प्रयोगकर्ता सन्तुष्ट रहेको र ५१.९ प्रतिशतले आगामी दिनमा पनि इभी नै किन्ने मनसाय व्यक्त गरेको जानकारी दिए। अध्ययनले उच्च मूल्य (४८%) , चार्जिङ पूर्वाधारको अभाव (४३.६%), ब्याट्रीसम्बन्धी चिन्ता (४२.५%) र सुरक्षा नियमनप्रतिको कमजोर विश्वास (५४.१%) लाई प्रमुख अवरोधका रूपमा देखाएको छ।छलफलमा सहभागी सांसद गीता गुरुङले ब्याट्री विसर्जन र पुनर्बिक्री मूल्यमा ध्यान दिन सुझाव दिइन्। त्यस्तै सोटेनका हरेराम श्रेष्ठले सरकारी सवारी साधन शतप्रतिशत इभीमा रूपान्तरण गर्नुपर्ने बताए भने इसिमोडका सागर अधिकारीले भारी सवारी साधनको रेट्रोफिटिङ सम्बोधन गर्न आग्रह गरे।
केन्द्रबिन्दु मिडियाका बिदुर खतिवडाले रोजगारीको सम्भावना र नर्वेको उदाहरण समावेश गर्न भनेका छन्। इभी विज्ञ प्रेम लामाले बिमा तथा दाबी तथ्यांक र पुष्पराज पन्तले सुरक्षा मापदण्ड एवं स्थानीय तहको नीतिगत सिफारिस थप्न सुझाव दिएका छन्।विज्ञान मन्त्रालयका रामचन्द्र थापाले नमुना आकार बढाउनुपर्ने बताएका छन् भने अटोमेकानिक्स संघका पूर्वअध्यक्ष ठाकुरप्रसाद न्यौपानेले मेकानिक तालिम र स्पेयर पार्ट्सको अभावबारे जोड दिएका छन् । गोविन्द भट्टराईले निजी क्षेत्र नियमन र ब्याट्री विसर्जन समावेश गर्नुपर्ने बताए भने पूर्वाधार मन्त्रालयका जगतमान श्रेष्ठले लाइसेन्स सुधार र दुरुपयोग नियन्त्रणमा जोड दिए।एफआईए सेफ एन्ड सस्टेनेबल मोबिलिटी ग्रान्टको सहयोगमा सञ्चालित ‘ईभिजन नेपालस् ड्राइभिङ द फ्युचर’ कार्यक्रमअन्तर्गत आयोजित यस अध्ययनलाई विशेषज्ञका सुझाव समेटेर थप परिमार्जन गरिने नासा नेपालले जनाएको छ।




.gif)





