images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • पर्यटकीय यातायातमा ईभीको दबदबा, ९० प्रतिशत...

पर्यटकीय यातायातमा ईभीको दबदबा, ९० प्रतिशत सवारी विद्युतीय

पर्यटकीय यातायातमा ईभीको दबदबा, ९० प्रतिशत सवारी विद्युतीय

images
images
आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • काठमाडौं । नेपालको पर्यटकीय यातायात अन्तर्गत साना सवारीहरूको बजारबाट पेट्रोल–डिजेलका गाडीहरूलाई विस्थापित गर्दै विद्युतीय सवारी साधन (ईभी) ले कब्जा जमाउन थालेको छ ।काठमाडौँ उपत्यका र प्रमुख पर्यटकीय गन्तव्यहरूमा सञ्चालन हुने साना तथा मझौला पर्यटकीय कारहरूमध्ये झण्डै ९० प्रतिशत ईभीमा रूपान्तरण भइसकेका छन् ।नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटीभीए) का अनुसार पर्यटकीय सेवामा पछिल्लो समय ईभीको प्रयोगमा उल्लेख्य रूपमा वृद्धि भइरहेको देखिन्छ ।

    images
    images

    सङ्घका पूर्वअध्यक्ष तथा महालक्ष्मी भेइकलका प्रबन्ध निर्देशक रामहरि शर्माले हाल सञ्चालनमा रहेका पर्यटकीय कारहरूको कुल सङ्ख्यामा ईभीको हिस्सा ९० प्रतिशत पुगिसकेको जानकारी दिए । उनका अनुसार शुरुवाती लगानी पेट्रोल वा डिजेल गाडी सरह नै भए पनि सञ्चालन र मर्मत खर्चमा हुने बचतकै कारण व्यवसायीहरू ईभीतर्फ आकर्षित भएको देखिन्छ ।पर्यटकीय ईभी कार बजारमा चिनियाँ ब्रान्ड बीवाइडीको वर्चस्व छ । बीवाइडीबाहेक सिजी नेटा, किया, ओमोडा जस्ता ब्रान्डका गाडीहरू पनि पर्यटकीय सेवामा सक्रिय छन् । व्यवसायीहरूका अनुसार इन्धन गाडीको तुलनामा ईभी चलाउँदा खर्च कम आउने र बढ्दो इन्धन लागतका कारण दिक्क भएका प्रयोगकर्ताका लागि ईभी उपयुक्त भएको पनि उल्लेख छ ।

    एउटा इन्धन गाडीको नियमित सर्भिसिङमा २० हजार रुपैयाँ खर्च हुने अवस्थामा ईभीमा २ हजार रुपैयाँ मात्रै हुन्छ भने पेट्रोल र डिजेलको मूल्यमा हुने उतारचढावले व्यवसायमा पार्ने असरलाई ईभीले कम गरिदिने प्रतिक्रिया एक पर्यटन यातायात सञ्चालन गरिरहेका व्यवसायीले बताए ।पर्यटकीय सेवाका ९० प्रतिशत सवारीको हिस्सा ईभीले ओगटेकै भए पनि ठूला पर्यटकीय भ्यान र बसहरूमा भने यो प्रविधि अझै शुरुवाती चरणमै छ । १६ सिटर किङलोङ र केवाइसी ब्रान्डका विद्युतीय भ्यानहरू प्रयोगमा आउन थाले पनि ठूला सवारीमा पर्याप्त विकल्प नहुँदा रूपान्तरण सुस्त देखिएको पनि व्यवसायीको भनाइ छ । काठमाडौँ उपत्यकामा ईभीको प्रयोग अधिक हुँदै गएको भए पनि बाहिर भने तुलनात्मक रूपमा न्यून छ ।एनटीभीएका अध्यक्ष भीमबहादुर गोलेका अनुसार काठमाडौँमा मात्रै करिब ११० वटा पर्यटकीय यातायात कम्पनीहरू सङ्घमा आबद्ध छन् । यी कम्पनीहरूमार्फत हाल ४ हजारभन्दा बढी पर्यटकीय सवारी साधनहरू छन् । यीमध्ये अहिले अफ–सिजन भएकोले दैनिक करिब एक हजार सवारीसाधन मात्रै हुइँकिरहेका छन् ।

    images
    images

    गोलेका अनुसार यति ठूलो सङ्ख्यामा सवारी साधन भए पनि राज्यबाट भने कुनै सहुलियत नहुँदा पर्यटकीय सवारी साधनले सहजता महसुस गर्न पाएका छैनन् । यी सवारीसाधन पर्यटन विभागमा दर्ता भएर हरियो नम्बर प्लेटमा चल्ने गरेका छन् ।सरकारले हरियो नम्बर प्लेटका सवारीलाई प्रवर्द्धन नगरेको र कुनै सुविधा नदिएको कारण निजी सवारीका रूपमा रातो नम्बर प्लेटमा समेत सञ्चालन भइरहेको गोलेले बताए ।

    हरियो प्लेट र लगानीको जोखिम

    अध्यक्ष गोलेले पर्यटकलाई दिइने सेवालाई मर्यादित बनाउन सबै पर्यटकीय सवारीलाई हरियो प्लेटमा लैजानुपर्नेमा जोड दिए । उनले रातो प्लेटका गाडी प्रयोग गर्दा ट्राफिक प्रहरीले कानुनी समस्या देखाएर यात्रु सेवा गर्नबाट रोक्ने गरेको बताए ।व्यवसायीले रातो र हरियो नम्बरमा कुनै फरक अनुभूति र सेवा नपाउने भएकोले यही नै हुनुपर्छ भनेर भन्न समेत सकिएको छैन।एउटै सानो गाडीको मूल्य ५० लाख माथि पर्ने र ब्याट्रीको दिगोपनाबारे स्पष्ट फिडब्याक आइनसकेकाले ईभीको प्रयोगबाट लगानी सुरक्षित गर्नमा भने अझै ढुक्क हुन नसकिने चिन्ता बढेको छ । पर्यटन क्षेत्रमा हुने सिजन र अफ–सिजनका कारण ईभीको किस्ता तिर्न र कर्मचारी पाल्न कठिनाइ हुने गरेको हुँदा सरकारी सहुलियत आवश्यक परेको तर्क उनीहरूको छ ।तथ्याङ्क अनुसार एनटीभीएमा आबद्ध प्रत्येक व्यवसायीसँग औसतमा ५ देखि ७ वटा पर्यटकीय कारहरू छन् र तीमध्ये अधिकांश ईभी भइसकेका छन् । सञ्चालन खर्च न्यून हुनु र यात्रुहरूले पनि ईभी मन पराउनुले नेपालको पर्यटकीय यातायात अब पूर्ण रूपमा इको-फ्रेन्डली बन्ने बाटोमा देखिएको छ ।

    टुरिस्ट बस एसोसिएसनका अध्यक्ष श्रीकान्त आचार्यका अनुसार यो संस्थामा आबद्ध व्यवसायीले पनि २० वटाजति ईभी चलाएका छन् । ३७ वटा टुरिस्ट बस सञ्चालन गर्ने यो संस्थासँग करिब ४ सयवटाजति सवारी साधन छन् । यीबाहेक साना सवारी सञ्चालन गर्ने कम्पनीहरू पनि आफ्नो संस्थामा आबद्ध हुने क्रम विस्तारै बढ्दै गएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend