images

२०८३ आश्विन २ गते

images
images
images
  • कर्पोरेट
  • नेपाल–कोरिया लगानी अवसर, चुनौती र रिटर्नी...

नेपाल–कोरिया लगानी अवसर, चुनौती र रिटर्नी उद्यमीको भूमिकाबारे अन्तरक्रिया

नेपाल–कोरिया लगानी अवसर, चुनौती र रिटर्नी उद्यमीको भूमिकाबारे अन्तरक्रिया

लगानी, प्रविधि, सीप र उद्यमशीलतामार्फत नेपाल–कोरिया आर्थिक सम्बन्ध विस्तारमा जोड

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं । नेपाल–कोरिया उद्यमी व्यवसायी संघको आयोजनामा ‘नेपाल–कोरिया लगानी अवसर, चुनौती र रिटर्नी उद्यमीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंस्थित द प्लाजा होटलमा आयोजना हुँदैछ।

    images
    images

    नेपाल र कोरियाबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई रोजगारी र श्रमसम्बन्धमा मात्र सीमित नराखी लगानी, प्रविधि, सीप, उत्पादन, व्यापार तथा उद्यमशीलताको साझेदारीमा विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।

    कार्यक्रममा नेपाल–कोरिया व्यवसायिक सहकार्यका सम्भावना, लगानीका अवसर, विद्यमान चुनौती तथा कोरियाबाट फर्किएका नेपाली उद्यमी–व्यवसायीको भूमिका र योगदानका विषयमा विभिन्न क्षेत्रका विज्ञ, सरकारी निकाय, कूटनीतिक नियोग, वित्तीय संस्था तथा व्यवसायीबीच छलफल हुनेछ।

    images
    images

    ढकाल प्रमुख अतिथि

    कार्यक्रममा चन्द्रप्रसाद ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। ढकाल ग्लोबल आईएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का पूर्वअध्यक्ष हुन्।

    त्यस्तै नेपालका लागि कोरियाका राजदूत एच.ई. पार्क ते–युङ, FNCCI का कार्यसमिति सदस्य तथा रोजगार परिषद्का उपाध्यक्ष बाबुकाजी कार्की, KOICA नेपालका कन्ट्री डाइरेक्टर कङ मू–हुन तथा नेपाल–कोरिया उद्यमी व्यवसायी संघका सल्लाहकार एवं पूर्वकूटनीतिज्ञ यादव खनाल विशेष अतिथि तथा मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

    लगानीदेखि श्रम नीतिसम्म छलफल

    कार्यक्रमको प्यानल डिस्कसनमा विभिन्न सरकारी निकाय तथा निजी क्षेत्रका प्रतिनिधिले नेपाल–कोरिया आर्थिक सहकार्यका विविध पक्षमा छलफल गर्नेछन्।

    प्यानलमा परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, श्रम मन्त्रालयका सहसचिव पिताम्बर घिमिरे, उद्योग मन्त्रालयका सहसचिव रामबन्धु सुबेदी, नेपाल राष्ट्र बैंकका उपनिर्देशक यज्ञ श्रेष्ठ तथा कोरिया रिटर्नी उद्यमी रुद्र शर्मा सहभागी हुनेछन्।

    उनीहरूले नेपाल–कोरिया लगानी, नीति, वित्तीय पहुँच, उद्योग, श्रम तथा रिटर्नी उद्यमीको सम्भावित भूमिकाका विषयमा आ–आफ्नो क्षेत्रगत अनुभव र विज्ञता प्रस्तुत गर्नेछन्।

    कार्यक्रमबाट उठेका विषय, छलफल तथा प्यानल डिस्कसनका आधारमा समग्र निष्कर्ष तथा नीतिगत सुझाव डा. सञ्जीव हुमागाईंले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। छलफलबाट नेपाल–कोरिया आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधार तथा व्यावहारिक उपाय पहिचान हुने अपेक्षा गरिएको छ।

    रिटर्नी उद्यमीको पूँजी र सीप उपयोगमा जोड

    कार्यक्रममा नेपाल–कोरिया उद्यमी व्यवसायी संघका महासचिव जितेन्द्र बानियाँले ‘नेपाल–कोरिया व्यवसायिक अवसर, चुनौती तथा रिटर्नी उद्यमीको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नेछन्।

    कार्यपत्रमा नेपाल र कोरियाबीच लगानी तथा व्यवसाय विस्तारका सम्भावना, कोरिया रिटर्नी उद्यमीको पूँजी, सीप, प्रविधि तथा अनुभवको उपयोग र दुई देशबीच व्यावसायिक सहकार्यका सम्भावित क्षेत्र समेटिने संघले जनाएको छ।

    त्यस्तै संघको आगामी योजना, सदस्यता विस्तारलगायत विषयमा सचिव नेत्र पौडेलले प्रस्तुति दिने कार्यक्रम रहेको छ।

    कार्यक्रमको अध्यक्षता नेपाल–कोरिया उद्यमी व्यवसायी संघका अध्यक्ष प्रेमकुमार गुरुङले गर्नेछन्।

    ‘रिटर्नी उद्यमी आर्थिक साझेदार बन्न सक्छन्’

    नेपाल–कोरिया उद्यमी व्यवसायी संघले कोरियाबाट फर्किएका नेपालीलाई केवल वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका रूपमा नभई सीप, प्रविधि, पूँजी, कार्यसंस्कृति तथा अन्तर्राष्ट्रिय बजारको अनुभव बोकेका सम्भावित आर्थिक साझेदारका रूपमा हेर्नुपर्नेमा जोड दिएको छ।

    संघका अनुसार रिटर्नी उद्यमीको सीप, पूँजी र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके त्यसले रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा उत्पादन विस्तारमा योगदान पुर्‍याउन सक्छ।

    नेपाल–कोरिया उद्यमी व्यवसायी संघले नेपाल र कोरियाबीचको आर्थिक सम्बन्धलाई थप विस्तार गर्न, कोरियाबाट फर्किएका नेपालीको क्षमता स्वदेशमा उपयोग गर्न तथा सम्भावित कोरियाली लगानीकर्तासँग नेपाली उद्यमीलाई जोड्ने उद्देश्यले आफ्नो भूमिका विस्तार गर्दै आएको जनाएको छ।

    आर्थिक सहकार्यलाई नयाँ आयाम दिने अपेक्षा

    नेपाल–कोरिया सम्बन्ध लामो समयदेखि श्रम तथा वैदेशिक रोजगारीसँग जोडिँदै आए पनि अब त्यसलाई लगानी, उत्पादन, प्रविधि, सीप हस्तान्तरण र उद्यमशीलतासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

    आजको अन्तरक्रियाले सरकार, निजी क्षेत्र, वित्तीय संस्था, कूटनीतिक नियोग, कोरियाली साझेदार तथा रिटर्नी उद्यमीबीच सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्नुका साथै लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत विषयलाई समेत उजागर गर्ने अपेक्षा गरिएको छ।

    नेपालमा फर्किएका कोरियाली रोजगारी अनुभव भएका युवाको सीप र पूँजीलाई उत्पादन तथा व्यवसायमा रूपान्तरण गर्न सके नेपाल–कोरिया सम्बन्धलाई श्रमबाट लगानी र उद्यमशीलतातर्फ विस्तार गर्ने आधार बन्न सक्ने संघको विश्वास छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend