काठमाडौँ । सन् १९७५ मा केही सीमित व्यवसायीहरूले स्थापना गरेको सानो संस्था आज ५० वर्ष पूरा गरी स्वर्ण जयन्ती मनाउने ऐतिहासिक मोडमा आइपुगेको छ। यसै सुवर्ण अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना गर्ने भएको छ।करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने यस प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् भने मेलामा २३ वटा चारपाङ्ग्रे, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी र १३ वटा दुईपाङ्ग्रे ब्रान्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ। यसका साथै, पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधारसम्बन्धी करिब ७० कम्पनी तथा १० वटा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरू समेत यसमा सहभागी हुनेछन्।
पाँच दशकको यो अवधिमा नेपाली अटोमोबाइल क्षेत्रले लोभलाग्दो फड्को मार्दै देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। हाल नेपालमा कुल दर्ता भएका सवारीसाधनको संख्या करिब ५५ लाख पुगेको छ। पछिल्लो पाँच आर्थिक वर्षमा मात्रै करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारी तथा सम्बन्धित सामग्री आयात हुँदा राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको छ, जसले यस क्षेत्रलाई राष्ट्रिय ढुकुटीको मुख्य मेरुदण्ड बनाएको छ। त्यस्तै, हरित गतिशीलतातर्फ उन्मुख हुँदै देशमा करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिइसकेका छन् भने तिनका लागि करिब २ हजार चार्जिङ स्टेसनको सञ्जाल तयार भइसकेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यो स्वर्ण जयन्ती संस्करण केवल एउटा संस्थाको उत्सव मात्र नभएर सिङ्गो उद्योगको योगदानको लेखाजोखा हो। पचास वर्षको अवधिमा यो उद्योगले कति बिक्री गर्यो भन्नेभन्दा पनि यसले अर्थतन्त्रलाई कसरी धानिरहेको छ भन्ने आधारमा नाप्ने समय आएको र भदौ ९ गते खुल्ने प्रदर्शनी त्यसैको प्रतिबिम्ब हुने उनको भनाइ छ। नेपालको अटोमोबाइल क्षेत्रलाई केवल आयात र बिक्रीमा मात्र सीमित नराखी रोजगारी सिर्जना, राजस्व संकलन, हरित प्रविधिको विस्तार र समग्र आर्थिक चलायमानताको प्रमुख संवाहकका रूपमा विकास गर्न नाडाले निरन्तर नेतृत्वदायी भूमिका खेल्दै आएको छ।




.gif)



