images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै...

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

images
images
मंगलवार, भाद्र ९ २०८३
मंगलवार, भाद्र ९ २०८३
  • म्याग्दी, ९ भदौ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी प्रशासकीय भवन निर्माण अघि बढाएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा जग्गाधनीको सहमतिमा चक्लाबन्दी गरी मापदण्डअनुसारको जग्गा गाउँपालिकालाई निःशुल्क उपलब्ध भएको छ । बाँकी जग्गा भने जग्गाधनीलाई नै फिर्ता गरिएको छ ।  

    images
    images

    गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार चक्लाबन्दी र जग्गा फिर्ताको प्रक्रिया पूरा गर्न पाँच वर्ष लागेको थियो । उनका अनुसार सुरुमा २७ जना जग्गाधनीको सहमतिमा २५ रोपनी जग्गा एकीकरण गरी चक्लाबन्दी गरिएको थियो ।

    “एकीकृत गरिएको जग्गामध्ये १४ रोपनी जग्गा दाताले गाउँपालिकालाई निःशुल्क उपलब्ध गराएका छन् ”, उनले भने, “बाँकी पाँच रोपनी जग्गा घडेरीका रूपमा सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिएको छ ।”

    images
    images

    बाँकी जग्गा उपयोग गरी वरिपरि आठ मिटर चौडा सडक निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

    मापदण्ड अनुसार आवश्यक जग्गा प्राप्त गर्न नसक्दा कतिपय स्थानीय तहले दोस्रो कार्यकालको अन्त्यसम्म पनि आफ्नै भवन निर्माण गर्न नसकेको अवस्थामा रघुगङ्गाले  फरक विधिबाट राज्यलाई आर्थिक भार नपर्ने गरी जग्गा व्यवस्थापन गरेको अध्यक्ष भण्डारीले बताएका छन् ।

    गाउँपालिकाले चालु आर्थिक वर्षभित्र आफ्नै बजेटबाट भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । अध्यक्ष भण्डारीले करोडौँ रुपैयाँ मूल्य पर्ने जग्गा समुदायबाट निःशुल्क प्राप्त भएकाले प्रशासकीय भवन निर्माणमा जग्गाधनीको ठूलो योगदान रहेको बताएका छन् । “पालिकाको सेवा सरल, सहज र पूर्वाधारयुक्त बनाउन हामीले गौरवको योजना अघि बढाएका हौँ”, उनले भने ।

    भवन निर्माणका लागि रु नौ करोड ४० लाख ४४ हजार ७५५ लागत अनुमान गरिएको छ । आव २०८१।८२ मा रु एक करोड ३१ लाख ९८ हजारको लागतमा ठेक्कामार्फत भवनको भुइँतला र पहिलो तला ढलान गरिएको थियो ।

    तीनतले ३३ कोठे भवनको बाँकी कामका लागि २०८३ असार २ गते रु पाँच करोड ९८ लाख दुई हजार ३१६ मा सिवी–मातृभूमि–एम एण्ड बी जेभीसँग ठेक्का सम्झौता गरिएको सवइञ्जिनियर कमल चोखालले जानकारी दिएका छन् ।

    ठेक्काको म्याद आगामी २०८४ असारसम्म रहे पनि लक्ष्यभन्दाअगावै भवन निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको निर्माण व्यवसायीले बताएका छन् । वर्षायाममा पनि उपकरण, मजदुर र निर्माण सामग्रीको व्यवस्थापन गरी कामलाई निरन्तरता दिइएको छ ।

    गाउँपालिकाले हाल मौवाफाँटमा रहेको बहुउद्देश्यीय भवनबाट सेवा दिँदै आएको छ । उक्त भवनलाई कर्मचारी आवासगृहका रूपमा प्रयोग गर्ने र नयाँ सुविधासम्पन्न भवनबाट नागरिकलाई सहज रूपमा सेवा दिने योजना रहेको अध्यक्ष भण्डारीले बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend