काठमाडौँ। गल्छी–त्रिशूली–बेत्रावती सडक खण्ड अन्तर्गत बेत्रावतीसम्मको पहुँच मार्ग जोड्ने काम तीव्र गतिमा अगाडि बढेको छ। कुल ३५ किलोमिटर लम्बाइ रहेको यस खण्डमा अब करिब १ किलोमिटर मात्र सडक खोल्न बाँकी रहेको सडक विभागले जनाएको छ।सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार रातामाटे क्षेत्रमा स्थानीयस्तरमा आएको अवरोधका कारण केही समय काम प्रभावित भए पनि हाल समस्या समाधान भएर काम पुनः सुरु भइसकेको छ । बाँकी रहेको १ किलोमिटर सडक खण्ड भौगोलिक रूपमा निकै अप्ठ्यारो (क्रिटिकल) भए पनि छिट्टै जोड्ने गरी काम भइरहेको उनले जानकारी दिए ।‘गल्छीदेखि बेत्रावतीसम्म कुल ३५ किलोमिटर सडकमध्ये अब १ किलोमिटर मात्र खोल्न बाँकी छ। यो सेक्सन अलि अप्ठ्यारो भएकाले केही समय लाग्न सक्छ, तर सडक जोड्ने काम छिट्टै सकिन्छ,’ प्रवक्ता न्यौपानेले भने ।
ट्रयाक खोल्ने प्रयास जारी
पुरानो सडकमा ३ देखि ४ मिटरसम्म बाढीको लेदो र गेग्रान थुप्रिएकाले त्यसलाई पन्छाउन महिनौँ लाग्ने अवस्था छ । अहिले सडक विभागले विदुर नगरपालिका–१० (रातामाटे क्षेत्र) मा खेतको बाटो हुँदै वैकल्पिक अस्थायी ट्रयाक खोल्ने प्रयास गरेको थियो ।सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार मुआब्जाको मागसहित स्थानीयको अवरोधका कारण केही समय काम प्रभावित भए पनि हाल समस्या समाधान भएर काम पुनः सुरु भइसकेको छ। ‘गल्छीदेखि बेत्रावतीसम्म कुल ३५ किलोमिटरमध्ये अब १ किलोमिटर मात्रै बाँकी छ । यो खण्ड अलि अप्ठ्यारो भएकाले केही समय लाग्न सक्छ, तर सडक जोड्ने काम छिट्टै सकिन्छ,’ प्रवक्ता न्यौपानेले भने । यो खण्ड जोडिएसँगै बेत्रावती हुँदै धुन्चेसम्मको पहुँच सहज हुनेछ।
देवीघाटमा सम्पन्न, बेत्रावतीमा फाउन्डेसन सुरु
नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोलाको क्षतिग्रस्त पक्की पुलको ठाउँमा नेपाली सेनाले ६० मिटर लम्बाइको एक्रो ब्रिज (बेलीब्रिज) जडान कार्यलाई अन्तिम चरणमा पुर्याएकाे छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले यहाँको ५५ मिटर लामो पक्की पुल बगाएको थियो।त्यसैगरी, बेत्रावती र त्रिशूली बजारमा पनि करिब ४८ मिटर लम्बाइका बेलीब्रिज जडानको प्रक्रिया अघि बढेको छ । प्रवक्ता न्यौपानेका अनुसार बेत्रावतीमा राखिने बेलीब्रिजको जग (फाउन्डेसन) निर्माणको काम सुरु भइसकेको छ । सडकको ट्रयाक खुल्नासाथ सामग्री पुर्याएर बेलीब्रिज जडान सम्पन्न गरिनेछ।यस्तै रसुवाको स्याफ्रुबेँशीस्थित पुल बगेकाले त्यहाँ करिब ७५ मिटर लामो बेलीब्रिज आवश्यक पर्ने देखिएको छ । विभाग र नेपाली सेनासँग बेलीब्रिजका सामग्री उपलब्ध भए पनि तल्लो खण्डको सडक नखुल्दा ढुवानी गर्न समस्या भएको छ।यसैबिच चीन सरकारले पनि कोरला नाका हुँदै बेलीब्रिजका आवश्यक सामग्रीहरू उपलब्ध गराएको छ ।
नेपाल सरकारले ती सामग्री ल्याएर आवश्यकता अनुसार रसुवागढी वा अन्य क्षतिग्रस्त स्थानहरूमा प्रयोग गर्नेछ ।गत भदौ १० गते चीनतर्फबाट भोटेकोशीमा आएको बाढीका कारण धादिङ, नुवाकोट र रसुवा जिल्लामा गरी करिब ५५ किलोमिटर सडक र ३५ वटा पुलमा पूर्ण क्षति पुगेको छ ।यसबाट भौतिक पूर्वाधारतर्फ मात्रै करिब ३० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको सडक विभागको प्रारम्भिक अनुमान छ।सरकारले क्षतिग्रस्त ३५ पुलमध्ये तत्काल अति आवश्यक ३ स्थानमा बेलीब्रिज जडान गरी अस्थायी रूपमा यातायात सञ्चालनमा ल्याउने रणनीति लिएको छ।




.gif)





