काठमाडौं, २६ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारमा देखिएका कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पछिल्लो समय पूँजी बजार सुस्त बनेको स्वीकार गरे । विगतमा भएका गैरजिम्मेवार गतिविधिका कारण बजारमा समस्या देखिएको उल्लेख गर्दै उनले अब बजारको अवस्था थप बिग्रन नदिने गरी सरकारले नीतिगत सुधार अघि बढाउने बताए ।
अर्थमन्त्री वाग्लेले लगानीकर्ताको विश्वास बढाउँदै पूँजी बजारलाई चलायमान बनाउन आवश्यक सुधारका ठोस कार्यक्रम अघि बढाइरहेको जानकारी दिए । उनका अनुसार पूँजी बजारमा देखिएका समस्याको पहिचान गरी सुधारका लागि सरकारले विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ ।
उनले बैंकिङ क्षेत्रमा थुप्रिएको पूँजी घरजग्गा र शेयर बजारमा मात्रै केन्द्रित हुनुको सट्टा उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिए । निष्क्रिय पूँजीलाई उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा आकर्षित गर्ने वातावरण निर्माण गर्नु सरकारको मुख्य प्राथमिकता रहेको उनको भनाइ छ ।
सहकारी संकट समाधानलाई प्राथमिकता
अर्थमन्त्री वाग्लेले सहकारी क्षेत्रमा देखिएको संकटले स्थानीय अर्थतन्त्रमा गम्भीर असर पारेको पनि बताए । सहकारी क्षेत्रको समस्या समाधान नभएसम्म स्थानीय आर्थिक गतिविधि सहज रूपमा अघि बढ्न नसक्ने उनको भनाइ छ ।
यस्तै, घरजग्गा कारोबारमा देखिएको मन्दी र पूँजी बजारको सुस्ततालाई सम्बोधन गर्दै समग्र अर्थतन्त्रलाई सही दिशामा अघि बढाउन सरकारले नीतिगत पहल गरिरहेको उनले जानकारी दिए ।
अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न सरकार दृढ रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले पूँजी बजारको सुधार, निष्क्रिय पूँजीको उत्पादनमूलक क्षेत्रमा परिचालन तथा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।




.gif)





