काठमाडौं। मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाई सार्वजनिक निष्कासन तथा बिक्री खुला भएको छ। मुक्तिनाथ विकास बैंक प्रवद्र्धक रहेको यस योजनाको इकाई बिक्री आज असोज १ गते बिहीबारदेखि खुला भएको हो।
यस योजनाअन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका दरले कुल १० करोड इकाई निष्कासन गरिनेछ । जसबाट १ अर्ब रुपैयाँ संकलन हुनेछ। कुल निष्कासनको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई सुरक्षित गरिएको छ । जसमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई प्रवद्र्धक मुक्तिनाथ विकास बैंकलाई र २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटललाई छुट्याइएको छ। बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई भने सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको छ। बाँकी न्यूनतम लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिँदा प्रतिइकाई १० रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ।
इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवेदन दिन सकिनेछ। साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइनमार्फत सि–आस्वा प्रणालीबाट समेत आवेदन दिन सकिनेछ। इकाईको बिक्री छिटोमा असोज ६ गते र ढिलोमा असोज १५ गते बैंकिङ समयपछि बन्द हुनेछ। इकाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले लिएको छ।




.gif)





