लमजुङ, २६ भदौ । लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकखण्ड अहिले तीन वटा काठे पुलको भरमा सञ्चालन हुँदै आएको छ । वर्षायाममा खोलामा पानीको बहाव बढ्दा यस्ता अस्थायी पुलबाट सवारीसाधन सञ्चालन गर्न जोखिम हुने गरेको छ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार चामे बजार क्षेत्रमा दुई वटा र स्यार्कु खोलामा एउटा काठे पुल रहेको छ । अस्थायी प्रकृतिका पुलका कारण विशेषगरी ठूला सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको उनले बताए ।
सडकखण्डमा रहेका अस्थायी पुलको समस्या समाधान गर्न १५ वटा पक्की पुल निर्माणको माग गरिएको भए पनि पर्याप्त बजेट अभावका कारण निर्माण अघि बढ्न सकेको छैन । पुल निर्माणका लागि आवश्यक डिजाइनसमेत तयार भइसकेको विष्टले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षमा पुल निर्माणका लागि बजेट नै विनियोजन भएको छैन । बजेट आए पनि न्यून रकम विनियोजन हुँदा पुल निर्माणको काम अघि बढाउन कठिन हुने अवस्था रहेको उनले बताए ।
कतिपय स्थानमा ह्युमपाइपबाट आवतजावत
बेँसीसहर–चामे सडकखण्डका कतिपय स्थानमा ह्युमपाइप राखेर सवारीसाधन सञ्चालन गर्नुपर्ने अवस्था रहेको आयोजनाले जनाएको छ । बाढीपहिरोबाट पुलमा क्षति पुगेपछि कतिपय स्थानमा अस्थायी काठे पुल निर्माण गरेर सडक सञ्चालनमा ल्याउनुपर्ने बाध्यता रहेको विष्टले बताए ।
मनाङलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले बेँसीसहर–चामे सडक निर्माण विसं २०५१ देखि सुरु भएको थियो । सशस्त्र द्वन्द्वका कारण निर्माण प्रभावित भएपछि नेपाली सेना विसं २०५७ देखि सडक निर्माणमा सहभागी भएको थियो ।
नेपाली सेनाले ६५ किलोमिटर सडक निर्माण गरी विसं २०६९ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो । कुल सडकखण्डमध्ये ३५ किलोमिटर लमजुङतर्फ र ३० किलोमिटर मनाङतर्फ पर्छ ।
कतिपय स्थानमा बेलिब्रिज तथा पक्की पुल निर्माण भइसके पनि बाढीपहिरोका कारण क्षति पुगेपछि पुनः अस्थायी काठे पुल राख्नुपर्ने अवस्था आएको आयोजनाले जनाएको छ ।
पुल जीर्ण हुँदा पटक–पटक सडक अवरुद्ध
काठे पुल जीर्ण हुँदा यस सडकखण्डमा विगतमा पटक–पटक यातायात अवरुद्ध हुने गरेको छ । विसं २०८० असारमा चामे गाउँपालिका–१ स्थित तिमाङ खोलाको काठे पुल तथा चामे–२ स्थित स्यार्कु खोलाको काठे पुल जीर्ण भएर भाँचिएपछि बेँसीसहर–चामे सडक दुई दिन अवरुद्ध भएको थियो ।
त्यस क्रममा दुवै पुलमा रहेका पुराना काठ हटाएर नयाँ काठ राखेर सडक सञ्चालनमा ल्याइएको थियो । यसअघि विसं २०७८ मा तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएपछि त्यसलाई विस्थापन गरी स्ल्याब कल्भर्ट निर्माण गर्न १५ दिनसम्म सडक बन्द गर्नुपरेको थियो ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार गाउँपालिकाभित्रै चामे बजारको बीचमा दुई स्थानमा काठे पुल रहेका छन् । ती पुलमा ठूला सवारीसाधन सञ्चालन गर्न समस्या हुने गरेको उनले बताए ।
गाउँपालिकाले काठे पुलको मर्मतसम्भार गर्दै आए पनि स्थायी समाधान हुन नसकेको अध्यक्ष घलेको भनाइ छ । पुलका कारण सडक अवरुद्ध हुँदा मनाङवासीले आवतजावतसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या भोग्नुपर्ने अवस्था रहेको उनले बताए ।
बेँसीसहर–चामे सडक मनाङको आवागमन तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि महत्वपूर्ण मार्ग भएकाले काठे पुलको विकल्पमा पक्की पुल निर्माणलाई प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ ।




.gif)





