images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • आँधीखोलामाथि ४४४ मिटर लामो झोलुङ्गे पुल,...

आँधीखोलामाथि ४४४ मिटर लामो झोलुङ्गे पुल, स्थानीय अर्थतन्त्र र पर्यटनमा नयाँ सम्भावना

आँधीखोलामाथि ४४४ मिटर लामो झोलुङ्गे पुल, स्थानीय अर्थतन्त्र र पर्यटनमा नयाँ सम्भावना

images
images
शनिवार, भाद्र २७ २०८३
शनिवार, भाद्र २७ २०८३
  • वालिङ (स्याङ्जा), २७ भदौ । स्याङ्जाको गल्याङ नगरपालिका–७ र ११ लाई जोड्ने गरी आँधीखोलामाथि ४४४ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । गल्याङ–११ को बुढाथोकी डाँडा र वडा नं. ७ को सेनापुकलाई जोड्ने पुल सञ्चालनमा आएपछि स्थानीयको आवतजावत सहज हुनुका साथै कृषि, व्यापार, पर्यटन तथा स्थानीय अर्थतन्त्रमा नयाँ सम्भावना खुलेको छ ।

    images
    images

    पुल निर्माणअघि सेनापुकका स्थानीयलाई सिद्धार्थ राजमार्गसम्म पुग्न करिब एक घण्टा लाग्ने गरेकामा अहिले करिब १० मिनेटमै राजमार्गसम्म पुग्न सकिने भएको छ । भौगोलिक रूपमा नजिक देखिए पनि आँधीखोलाका कारण वारिपारि आवतजावत गर्न घण्टौँ समय खर्चिनुपर्ने बाध्यता पुल निर्माणसँगै अन्त्य भएको स्थानीयले बताएका छन् ।

    गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईका अनुसार पुलले आँधीखोला पारिका बाक्लो बस्तीका नागरिकको दैनिक जीवन सहज बनाउनुका साथै व्यापार–व्यवसाय, शिक्षा, स्वास्थ्य र आवतजावतमा प्रत्यक्ष लाभ पुर्‍याएको छ ।

    images
    images

    “पुल निर्माण सम्पन्न भएपछि यहाँका स्थानीयलाई आवतजावत, व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य तथा दैनिक जीवनयापनका लागि सहज र सरल भएको छ,” उनले भने, “पुल निर्माणसँगै गल्याङलाई भौतिक, आर्थिक र सामाजिक दृष्टिले मजबुत बनाउँदै समग्र नगरलाई विकासको नयाँ आयाममा अघि बढाउने अपेक्षा गरेका छौँ ।”

    सडक किनारमै रहेको अग्लो र लामो झोलुङ्गे पुल आन्तरिक तथा बाह्य पर्यटकका लागि समेत आकर्षणको केन्द्र बन्न सक्ने नगरपालिकाको अपेक्षा छ । पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके स्थानीयस्तरमा होटल, यातायात, कृषि उपज तथा अन्य सेवामूलक व्यवसाय विस्तार हुने सम्भावना देखिएको छ ।

    जय नेपाल ईश्वर निर्माण सेवा प्रालिले भ्याटसहित करिब चार करोड रुपैयाँको लागतमा पुल निर्माण गरेको हो ।

    पुल निर्माणपछि कृषि तथा पशुपालनका दृष्टिले सम्भावनायुक्त आँधीखोला आसपासका बस्तीमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना भए गाउँबाट शहरतर्फ हुने बसाइँसराइको दरसमेत घटाउन सहयोग पुग्ने विश्वास स्थानीयको छ ।

    गल्याङ–७ सेनापुकका स्थानीयवासी रामप्रसाद अर्यालका अनुसार पुल नहुँदा विद्यार्थीहरू विद्यालय जान झण्डै पाँच किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता थियो । अहिले पुल हुँदै करिब दुई किलोमिटरमै गल्याङ बजारका विद्यालय पुग्न सकिने भएको छ ।

    “यहाँका मानिसलाई दैनिक बजार, विद्यालय, अस्पताल जान गाउँबाट अटोमा तीन सयदेखि पाँच सय रुपैयाँसम्म खर्च लाग्ने गथ्र्यो,” उहाँले भन्नुभयो, “पुल तर्नासाथै सिद्धार्थ राजमार्ग छ । त्यहाँबाट जतिबेला पनि गाडी पाइन्छ । पहिलाभन्दा सस्तो र छिटो हुने गरेको छ ।”

    पुल सञ्चालनमा आएपछि साना विद्यार्थीलाई विद्यालय पठाउँदा खोलामा हुने जोखिमसमेत घटेको छ । यसअघि खोला तार्न अभिभावकको सहयोग आवश्यक पर्ने अवस्था रहेकामा अहिले पुलमार्फत सुरक्षित रूपमा राजमार्गसम्म पुग्न सकिने भएको छ ।

    स्थानीयका अनुसार पुलले केवल आवतजावतको सुविधा मात्र नभई शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, व्यापार, पर्यटन र रोजगारी लगायत बहुआयामिक क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ । पूर्वाधारसँग जोडिएको आर्थिक गतिविधि विस्तार हुँदै गएमा आँधीखोला आसपासका बस्तीको स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन पुल महत्वपूर्ण आधार बन्न सक्ने देखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend