काठमाडौँ, २९ फागुनः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत चालु आर्थिक वर्षका लागि छनोट भएका ९ वटा योजना मध्ये चार योजना कार्यान्वयनमा आएका छन् ।
पहिरो नियन्त्रण, ४ वटा पुल र एक कालोपत्र योजना सहित यहाँ नौ योजना रहेका छन् । आयोजनाका सूचना अधिकारी इञ्जिनियर बिष्णु चापागाईंले ती योजना मध्ये ४ वटा ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेको र ५ योजना ठेक्का सम्झौताको चरणमा रहेको बताउनु भएको छ।
यहाँ मुस्ताङको थासाङ–४ स्थित कैकु खोला, थासाङ–२ को लार्जुङ खोला, जोमसोम–मुक्तिनाथ खण्डको पान्डा खोलामा पुल र म्याग्दीको राहुघाट खोलामा बेलिब्रिजका लागि ठेक्का सम्झौता भएको हो ।
आयोजनाका अनुसार मुस्ताङको थासाङ–४ स्थित २० मिटर लम्बाइको कैकु खोला पुलको बाँकी निर्माण सम्पन्न गर्न रु ५ करोड ३९ लाखमा बिके केसी, जिसी जेभी निर्माण कम्पनीसँग १३ फागुनमा ठेक्का सम्झौता भएको हो । थासाङ–४ लार्जुङ खोलामा निर्माणाधीन २० मिटर लामो पुलको अधुरो निर्माण सम्पन्न गर्न रु २ करोड २२ लाखमा एसके धौलागिरी निर्माण सेवा सँग ११ फागुनमा ठेक्का सम्झौता भएको थियो ।
यस्तै, पान्डा खोला पुलमा खोलाको धार एकीकृत गराउन नयाँ ठेक्का सम्झौता भएको हो । पान्डा खोला पुलमा पानीको सर्कुलर जोड्ने गरी खोला च्यानलाइजिङ गर्न ११ फागुनमा रु ५८ लाख ५७ हजारमा सोली थुम्का निर्माण सेवासँग ठेक्का सम्झौता भएको सूचना अधिकारी चापागाईंले बताउनु भयो । राहुघाटमा अवस्थित बेलिब्रिज व्यवस्थापन तथा मर्मतका लागि बिआरटी साया जेभीसँग रु ३ करोड ३९ लाखमा १३ फागुनमा ठेक्का सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।




.gif)





